spot_img

आत्मदाह गरेका गणेश नेपालीको शव तीन दिनदेखि शिक्षण अस्पतालमै

spot_img
spot_img

काठमाडौं,२८ असार । काठमाडौं महानगर प्रहरीसँग भएको विवादपछि आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव मृत्यु भएको तीन दिन बितिसक्दा पनि परिवारले बुझ्न सकेको छैन। पीडित परिवार र सरकारबीच माग सम्बोधनको विषयमा सहमति नजुटेकाले अन्त्येष्टि प्रक्रिया अझै अघि बढ्न सकेको छैन।

गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाएपछि उत्पन्न विवादका क्रममा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको भोलिपल्ट वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। हाल उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा राखिएको छ।

घटनापछि न्यायको माग गर्दै मृतकका बुबाआमा र दाजु मदन नेपाली काठमाडौं आएका छन्। परिवार र सरकारी पक्षबीच पटक–पटक वार्ता भए पनि हालसम्म कुनै निष्कर्ष ननिस्किएकाले शव बुझ्ने प्रक्रिया रोकिएको छ।

मृतकका दाजु मदन नेपालीले परिवारलाई काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय नजिकैको भवनमा सुरक्षा निगरानीमा राखिएको र बाहिरी व्यक्तिसँग सहज रूपमा भेटघाट गर्न नदिएको बताएका छन्। आइतबार प्रधानमन्त्री कार्यालयका प्रतिनिधिसँग समेत छलफल भए पनि ठोस सहमति हुन सकेको छैन।

प्रशासनले भने वार्तामार्फत समस्या समाधान गर्ने प्रयास जारी रहेको जनाएको छ। परिवारले न्यायसहित आफ्ना माग पूरा भएपछि मात्रै शव बुझ्ने अडान कायम राखेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय