spot_img

अब मोबाइल वा वेब एपबाटै बैंक खाता बन्द गर्न सकिने

spot_img
spot_img

काठमाडौं,२८ असार । बैंक तथा वित्तीय संस्थाका ग्राहकले अब बैंकको शाखा कार्यालयमा उपस्थित नभई मोबाइल बैंकिङ वा वेब एपमार्फत पनि आफ्नो बैंक खाता बन्द गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था लागू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।

राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता घटाउने स्पष्ट कार्ययोजना तयार गरी आगामी पुस महिनाभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ।

नयाँ व्यवस्थाअनुसार कुनै खाता निष्क्रिय हुनुअघि सम्बन्धित बैंकले ग्राहकलाई फोन, एसएमएस वा इमेलमार्फत नियमित रूपमा जानकारी गराउनुपर्नेछ। यस्तै, निष्क्रिय भइसकेका खातालाई पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक छ महिनामा ग्राहकसँग सम्पर्क गरी जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।

ग्राहकले देशभरका जुनसुकै शाखाबाट वा मोबाइल तथा वेब एपमार्फत खाता बन्द गर्न अनुरोध गर्न सक्नेछन्। खाता बन्द गर्ने क्रममा खातामा रहेको रकम ग्राहकले तोकेको अर्को बैंक खातामा सहज रूपमा स्थानान्तरण गर्नुपर्ने जिम्मेवारी सम्बन्धित बैंकको हुनेछ।

राष्ट्र बैंकले बैंकहरूलाई देशभरका जुनसुकै शाखाबाट ग्राहकको पहिचान गरी निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। साथै, पुनः सञ्चालनमा आएका निष्क्रिय खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न प्रभावकारी प्रणाली विकास गर्नुपर्ने उल्लेख गरिएको छ।

यसका अतिरिक्त, निष्क्रिय खाताको दुरुपयोग गरी हुन सक्ने अवैध वित्तीय कारोबार तथा वित्तीय अपराधबारे सर्वसाधारणमा जनचेतना फैलाउन बैंक तथा वित्तीय संस्थाले नियमित रूपमा सूचना र सचेतनामूलक सामग्री प्रसारण गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय