spot_img

बीरगन्जमा सडक विस्तार तीव्र, एक सातामै ३ सयभन्दा बढी घर भत्काइयो

spot_img
spot_img

बीरगन्ज,२८ असार । बीरगन्ज महानगरपालिकाको मुख्य सडक विस्तार अभियानअन्तर्गत एक साताको अवधिमा करिब ३ सय घर तथा संरचना हटाइएको छ।

सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा बीरगन्ज क्षेत्रका फोकल पर्सन दुर्गा प्रसाद का अनुसार गण्डकदेखि घण्टाघरसम्म र मितेरी पुलदेखि वीरगन्ज उद्योग वाणिज्य संघको भवनसम्मको क्षेत्रमा ती संरचना हटाइएको हो।

उनका अनुसार हाल सडक विस्तारका लागि ६ वटा डोजर परिचालन गरिएको छ। ती डोजरमार्फत दैनिक करिब ५० देखि ६० वटा संरचना भत्काउने काम भइरहेको छ।

कुल ८ किलोमिटर सडक क्षेत्रमा रहेका संरचना हटाउनुपर्नेमा हालसम्म करिब ६ किलोमिटर क्षेत्र खाली गरिसकिएको सडक डिभिजनले जनाएको छ। बाँकी २ किलोमिटर क्षेत्रमा पनि क्रमशः काम अघि बढाइने बताइएको छ।

बाँकी क्षेत्रमा रहेका केही घरधनीले आफैं संरचना हटाउन थालेकाले काम सहज हुने इन्जिनियर प्रसादले जानकारी दिए।

सडक विस्तार अभियानअन्तर्गत पहिलो चरणमा गत वैशाख ६ र ७ गते मुख्य सडक क्षेत्रमा रहेका करिब १ हजार २ सय घर तथा भवनमा डोजर चलाइएको थियो। त्यसक्रममा अधिकांश संरचनाको अगाडिको भाग मात्र हटाइएको थियो भने सडक सीमाभित्र पर्ने संरचना २५ दिनभित्र आफैं हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको थियो।

तर तोकिएको समयसीमा सकिँदासमेत धेरै संरचना यथावत् रहेपछि सडक विभागले दोस्रो चरणको हटाउने अभियान सुरु गरेको हो।

सडक डिभिजनका अनुसार गत शुक्रबारदेखि बुधबारसम्म गण्डक–घण्टाघर क्षेत्र र त्यसपछि मितेरी पुलदेखि उत्तरतर्फको क्षेत्रमा संरचना हटाउने काम गरिएको हो। सडक विस्तारपछि वीरगन्जको मुख्य सडक क्षेत्र थप व्यवस्थित र फराकिलो हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय