काठमाडौं,२८ असार । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर दुईदिने नेपाल भ्रमणका लागि सोमबार (१३ जुलाई) काठमाडौं आउँदै छन्।
महावर नेपाल–भारतबीचको ऊर्जा तथा जलस्रोतसम्बन्धी संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन्। उनी भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख समेत हुन्, जसले चीन, नेपाल र भुटानसम्बन्धी मामिला हेर्दै आएका छन्।
नेपाल भ्रमणका क्रममा महावरले परराष्ट्र मन्त्री शिशिर खनाल लगायत नेपाली अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा नेपाल–भारत ऊर्जा सहकार्यसम्बन्धी संयुक्त समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्लुजी) को बैठकमा पनि उनी सहभागी हुनेछन्। उक्त बैठक जुलाई १४ र १५ मा काठमाडौंमा आयोजना हुँदैछ।
बैठकमा दुई देशबीच विद्युत् व्यापार, ऊर्जा सहकार्य, जलस्रोत तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको अवस्थामा महावरको भ्रमणलाई महत्वका साथ हेरिएको छ।




