काठमाडौँ,२८ असार । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले दलाई लामाको जन्मजयन्ती मनाउन अनुमति दिएको विषयलाई लिएर सरकारको आलोचना गरेका छन्। उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउने सरकारले विदेशी व्यक्तिको कार्यक्रमलाई अनुमति दिएको भन्दै आपत्ति जनाएका हुन्।
आइतबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले वर्तमान सरकारले राष्ट्रियता र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषयलाई बेवास्ता गरेको आरोप लगाए। उनका अनुसार राष्ट्रनिर्माताप्रति सम्मान नदेखाउने तर विदेशी व्यक्तित्वसँग सम्बन्धित कार्यक्रमलाई सहज रूपमा अनुमति दिनु सरकारको दोहोरो मापदण्ड भएको दाबी गरे।
प्रसाईंले काठमाडौंमा तिब्बती र रोहिंग्या शरणार्थीहरूले आश्रय पाएको उल्लेख गर्दै आफ्नै देशका सुकुमबासी र विपन्न नागरिक भने विस्थापित हुन बाध्य भएको टिप्पणी गरे। उनले सरकारले सुकुमबासीको उचित व्यवस्थापन गर्न नसकेको आरोप पनि लगाए।
पत्रकार सम्मेलनमा उनले बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदर, ट्राफिक जरिवाना र सर्वसाधारणमाथि बढ्दो आर्थिक भारका विषयमा पनि सरकारको आलोचना गरे। हालै आत्मदाह गरेका गणेश नेपालीको घटनालाई उल्लेख गर्दै आर्थिक र प्रशासनिक दबाबका कारण सर्वसाधारण पीडित भइरहेको दाबी गरे।
प्रसाईंले आफूलाई राज्यले निरन्तर निगरानी र नियन्त्रणमा राखेर आवाज दबाउने प्रयास गरिरहेको आरोप लगाउँदै आगामी दशैंसम्म वर्तमान व्यवस्थाविरुद्ध सशक्त आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएका छन्।




