spot_img

मानसिक स्वास्थ्य सेवालाई समुदायसम्म पुर्‍याउन मन्त्रालयको देशव्यापी अभियान

spot_img
spot_img

काठमाडौँ,२८ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्न संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा बसेको अनलाइन बैठकले मानसिक स्वास्थ्यलाई समुदायस्तरसम्म पुर्‍याउने गरी व्यापक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख, सातै प्रदेशका स्वास्थ्य सचिव, स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रतिनिधिहरू सहभागी थिए।

निर्णयअनुसार विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदायस्तरीय सचेतना, उपचाररत बिरामीलाई निरन्तर सहयोग तथा वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई मनोसामाजिक परामर्श उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिनेछ।

मन्त्रालयले मानसिक स्वास्थ्य सेवा सहज पहुँचमा पुर्‍याउन मानसिक स्वास्थ्य हटलाइन ११६६, हेलो स्वास्थ्य १११५ तथा नजिकका स्वास्थ्य संस्थाको सम्पर्क विवरणबारे व्यापक प्रचारप्रसार गर्ने जनाएको छ। साथै मोबाइल रिङ ब्याक टोन, सामाजिक सञ्जाल, पोस्टर, भिडियो सन्देश, टिकटक रिल्स र अनलाइन काउन्सेलिङमार्फत जनचेतना अभियान सञ्चालन गरिनेछ।

अभियानमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा क्लब, सामी परियोजना तथा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका जनशक्तिलाई पनि परिचालन गरिनेछ। आयुर्वेदअन्तर्गत योग, ध्यान तथा मनोसामाजिक सेवालाई समेत अभियानसँग जोडिने मन्त्रालयको योजना छ।

यस्तै, अस्पतालमा उपलब्ध मानसिक स्वास्थ्य सेवाको प्रचारप्रसार, निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्ने, नियमित स्वास्थ्य सेवासँग मानसिक स्वास्थ्यलाई एकीकृत गर्ने तथा आवश्यक अस्पतालमा साइकोसोसियल हेल्थ डेस्क स्थापना गर्ने तयारी पनि अघि बढाइनेछ।

मन्त्रालयले मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्राप्त जनशक्तिको विवरण अद्यावधिक गर्ने, उपचार बीचमै छाडेका बिरामीलाई पुनः उपचारमा ल्याउने, उपचारको पहुँचबाहिर रहेका व्यक्तिको पहिचान गरी सेवा दायरामा ल्याउने तथा छात्रवृत्ति चिकित्सक परिचालनका लागि आवश्यक मापदण्ड तयार गर्ने निर्णयसमेत गरेको छ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बाँकी अवधिमै प्रारम्भिक कार्यक्रम सुरु गरिनेछ भने आगामी आर्थिक वर्षको साउनदेखि देशभर समुदायमा आधारित मानसिक स्वास्थ्य सेवा र परामर्श अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गरिनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय