काठमाडौं,२८ असार । नेपाली कांग्रेसले पार्टीको संगठन सुदृढीकरण र क्रियाशील सदस्यता अद्यावधिकका लागि सञ्चालन गरेको ‘जरा अभियान’ साउन ६ गते औपचारिक रूपमा समापन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रदेश, जिल्ला र पालिका तहका समितिलाई परिपत्र जारी गर्दै अभियान समापनको तयारी गर्न निर्देशन दिएको हो।
महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्रअनुसार १५औँ महाधिवेशनको कार्यतालिका अन्तर्गत क्रियाशील सदस्यता फारम वितरण तथा नयाँ सदस्यहरूको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समय साउन ३ गतेसम्म थप गरिएको छ। युवा केन्द्रित विशेष अभियानअन्तर्गत जिल्ला र पालिकामा खटिएका केन्द्रीय प्रतिनिधिहरूको कार्यअवधि पनि सोही मितिसम्म कायम रहनेछ।
परिपत्रमा साउन ४ गते पालिकामा खटिएका प्रतिनिधिहरूले जिल्लाका केन्द्रीय प्रतिनिधिसमक्ष प्रतिवेदन बुझाउनुपर्ने उल्लेख छ। त्यसपछि साउन ६ गते जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर जिल्ला कार्यसमितिहरूको आयोजनामा व्यापक सहभागितासहित ‘जरा अभियान’ समापन कार्यक्रम गरिने कांग्रेसले जनाएको छ।
कांग्रेसले अभियानअन्तर्गत ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको थियो। अभियानमार्फत डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, वडास्तरमै क्रियाशील सदस्यता अद्यावधिक गर्ने तथा नयाँ सदस्यता वितरण गर्ने योजना अघि सारिएको थियो।
तर यही प्रक्रियालाई लिएर पार्टीभित्र विवाद चर्किएको छ। विशेषगरी पुराना क्रियाशील सदस्यहरूले पुनः फारम भर्नुपर्ने, व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने र फोटो खिचाउनुपर्ने व्यवस्थाप्रति केही नेताहरूले असहमति जनाएका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले यस प्रावधानको विरोध गर्दै आएका छन्। उनीहरूको तर्क छ कि १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता गत पुस मसान्तभित्रै नवीकरण भइसकेकाले पुनः अनिवार्य अद्यावधिक गर्नुपर्ने आवश्यकता छैन।
यसै विषयमा देउवा समूह, शेखर कोइराला समूह र पार्टी संस्थापन पक्षबीच मतभेद बढ्दै गएको छ। देउवा, पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइरालालगायतका नेताहरू तथा उनीहरूसँग निकट रहेका धेरै नेता–कार्यकर्ताले सदस्यता अद्यावधिक प्रक्रियामा असहमति जनाएका छन्।
सदस्यता विवादले कांग्रेसभित्रको आन्तरिक संघर्ष थप गहिरिएको नेताहरू बताउँछन्। यही विवादका कारण पार्टी विभाजनको अवस्था आउन सक्ने चिन्ता समेत केही नेताहरूले व्यक्त गरेका छन्।
यसैबीच, देउवा समूहले विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसको अवसरमा काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। यसले कांग्रेसभित्रको गुटगत दूरी अझ स्पष्ट देखिएको छ।




