काठमाडौं,२८ असार । कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बस्दै आएका सुकुम्वासी परिवारलाई सरकारले भक्तपुरको खरिपाटी स्थानान्तरण गरेको छ।
सरकारले होल्डिङ सेन्टरमा रहेका ३१ घरपरिवारका ८९ जनालाई शनिबार र आइतबार गरी दुई दिनमा खरिपाटी पुर्याएको हो। केही परिवारलाई भने भक्तपुरको बोडे क्षेत्रमा व्यवस्थापन गरिएको जनाइएको छ।
स्थानान्तरण गरिएका सुकुम्वासीलाई भेट्न आइतबार विभिन्न मन्त्रीहरू खरिपाटी पुगेका थिए। सरकारले तत्कालीन व्यवस्थापनसँगै दीर्घकालीन समाधानको पहल गरिरहेको सन्देश दिन मन्त्रीहरू बस्तीमै पुगेर उनीहरूसँग छलफल गरेका हुन्।
बागमती नदी किनारका बस्ती डुबानको जोखिममा रहेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गत वैशाख १२ गतेदेखि बल प्रयोग गरेर ती बस्ती हटाएको थियो। तर हटाइएका परिवारलाई तोकिएको समयभित्र स्थायी व्यवस्थापन गर्न सरकार असफल भएको आलोचना हुँदै आएको थियो।
यसैबीच गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव, महिला मन्त्री सीता वादी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावललगायत खरिपाटी पुगेर सुकुम्वासी परिवारसँग भेट गरेका छन्।
भेटका क्रममा भूमि व्यवस्था मन्त्री रावलले भूमिहीन सुकुम्वासीलाई कानुनी प्रक्रियामार्फत लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्। हतारमा निर्णय गर्दा भविष्यमा कानुनी समस्या आउन सक्ने भन्दै सरकारले दीर्घकालीन समाधानलाई प्राथमिकता दिएको उनको भनाइ थियो।
मन्त्री रावलले सरकारले नतिजामुखी ढंगले काम गरिरहेको दाबी गर्दै भूमिहीन समस्या समाधानका लागि आवश्यक प्रक्रिया छिट्टै अघि बढाइने बताइन्।




