बीरगन्ज,२८ असार । चर्को गर्मीका बीच बीरगन्ज र आसपासका क्षेत्रमा बढ्दो विद्युत् ट्रिपिङले सर्वसाधारणलाई सास्ती भएको छ। रातिको समयमा पटक–पटक बत्ती जाने समस्याले पंखाको भरमा रात बिताइरहेका स्थानीयको निद्रा समेत प्रभावित भएको छ।
पछिल्लो एक सातायता विद्युत् अवरुद्ध हुने क्रम बढेपछि आक्रोशित उपभोक्ताहरू नेपाल विद्युत् प्राधिकरण बीरगन्ज वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण गराउन थालेका छन्। तर गुनासोपछि पनि विद्युत् सेवामा अपेक्षित सुधार हुन नसकेको स्थानीयको भनाइ छ।
बीरगन्ज–घडिअर्वाका स्थानीय मुन्ना सर्राफका अनुसार रातिको समयमा हुने लगातारको ट्रिपिङले सबैभन्दा बढी मध्यम र न्यून आय भएका परिवार प्रभावित भएका छन्। इन्भर्टर वा एसीको सुविधा भएका परिवारलाई केही राहत भए पनि सामान्य उपभोक्ताले गर्मी र अन्धकार दुवै सामना गर्नुपरेको उनले बताए।
हरपतगन्जका दामोदरप्रसाद यादवले नियमित विद्युत् आपूर्ति नै सर्वसाधारणको मुख्य आवश्यकता रहेको बताए। उनका अनुसार रातिको समयमा तीनदेखि चार पटकसम्म बत्ती जाने गरेको छ, जसले गाउँ तथा सहर दुवै क्षेत्रका बासिन्दालाई समस्या परेको छ।
वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले औद्योगिक क्षेत्रमा समेत विद्युत् ट्रिपिङको समस्या बढेको बताए। जगदम्बा स्टिललगायत उद्योग क्षेत्र आसपासमा पनि विद्युत् अवरोध देखिएको भन्दै उनले पछिल्लो समय घरेलु उपभोक्ता बढी प्रभावित भएको उल्लेख गरे।
नेपाल विद्युत् प्राधिकरण बीरगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतोले गर्मीका कारण विद्युत् वितरण प्रणालीमा भार बढ्दा ट्रिपिङको समस्या देखिएको बताए। उनका अनुसार पछिल्लो समय घरघरमा एसी जडान बढेकाले ट्रान्सफर्मरमा क्षमताभन्दा बढी लोड परेको छ।
‘ट्रान्सफर्मरले निश्चित क्षमतासम्म मात्रै भार थेग्न सक्छ। धेरै लोड हुँदा तीन फेजमध्ये एउटा फेज निष्क्रिय हुने र एमसीबी ट्रिप हुने समस्या आउँछ,’ महतोले भने।
उनका अनुसार वीरगन्जको उच्च जनघनत्व, अव्यवस्थित सहरी विस्तार र पुराना विद्युत् संरचनाका कारण वितरण प्रणाली सुधारमा चुनौती थपिएको छ। विद्युत् उत्पादन वा आपूर्तिमा समस्या नभए पनि बढ्दो माग, संरचनाको सीमित क्षमता र मर्मतसम्भारका कारण सेवा प्रभावित भइरहेको उनले बताए।
प्राधिकरणले गर्मीयामभरि ट्रिपिङ समस्या पूर्ण रूपमा हटाउन चुनौती रहेको स्वीकार गर्दै वितरण प्रणाली सुधारका लागि स्थानीयको सहयोग आवश्यक रहेको जनाएको छ।




