बीरगन्ज,२९ असार । मिटरब्याजविरुद्ध न्यायको माग गर्दै मधेशबाट काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका पीडितहरूको अभियान बर्खे वर्षाका कारण प्रभावित बनेको छ।
आइतबार रौतहटको चपुर पुगेर धर्मशालामा रात बिताएका उनीहरूले सोमबार बिहान ५ बजेदेखि यात्रा पुनः सुरु गर्ने योजना बनाएका थिए। तर, बिहानैदेखि परेको लगातार वर्षाले उनीहरूको यात्रा केही प्रभावित भएको छ।
वर्षाको चुनौतीका बाबजुद पनि पीडितहरू न्यायको मागबाट पछि नहट्ने अडानका साथ काठमाडौंतर्फको यात्रा निरन्तर अघि बढाइरहेका छन्। उनीहरूको यो पैदल यात्रा मिटरब्याज पीडितलाई न्याय दिलाउन र सरकारले प्रभावकारी कदम चाल्न दबाब सिर्जना गर्ने उद्देश्यले जारी रहेको छ।




