काठमाडौं,२९ असार । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा मुलुकको रूपान्तरण सम्भव नहुने बताएका छन्। उनले देश परिवर्तनका लागि स्पष्ट वैचारिक आधार, दीर्घकालीन योजना र निरन्तर समर्पण आवश्यक पर्नेमा जोड दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले समाजमा देखिएका विकृति, विसङ्गति र बेथितिको अन्त्य गर्न आफैँभित्रको आचरण सुधार्न नसक्ने नेतृत्वमाथि भरोसा गर्नु नेपाली समाजको ठूलो भूल भएको टिप्पणी गरेका छन्। चर्का भाषण गर्नेहरूको व्यवहार र कार्यशैली नै विरोधाभासपूर्ण रहेकाले उनीहरूबाट देश रूपान्तरणको अपेक्षा गर्न नसकिने उनको भनाइ छ।
उनले विगतमा देशमा कुनै विकास नभएको भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तारले नागरिकको जीवनशैलीमा उल्लेखनीय परिवर्तन ल्याएको बताए। तर विकाससँगै नागरिकको अपेक्षा तीव्र रूपमा बढे पनि वैधानिक आम्दानी सोही अनुपातमा बढ्न नसक्दा समाजमा असन्तुलन सिर्जना भएको उनको विश्लेषण छ।
पोखरेलका अनुसार अपेक्षा र आयबीचको यही खाडलले वैध तथा अवैध दुवै माध्यमबाट सम्पत्ति आर्जन गर्ने प्रवृत्ति बढाएको छ। त्यसकै परिणामस्वरूप भ्रष्टाचार, अपराध, सामाजिक अराजकता, पैतृक सम्पत्तिको क्षयीकरण तथा वैदेशिक पलायनजस्ता समस्या गम्भीर बन्दै गएको उनले उल्लेख गरेका छन्।
महासचिव पोखरेलले यस्ता संरचनागत समस्याबाट उत्पन्न जनअसन्तोषलाई सामाजिक सञ्जाल र पपुलिस्ट राजनीतिक प्रवृत्तिमार्फत राज्य तथा राजनीतिक दलविरुद्ध प्रयोग गरिएको दाबी गरेका छन्।
उनले यस्ता चुनौतीको समाधान क्षणिक उत्तेजना वा लोकप्रिय नाराले नभई वैचारिक स्पष्टता, राजनीतिक इमानदारी र दीर्घकालीन नीतिगत प्रतिबद्धताबाट मात्र सम्भव हुने बताएका छन्।




