काठमाडौं,२९ असार । इरानले आफूविरुद्ध हुने कुनै पनि सैन्य आक्रमणमा सहयोग गर्ने वा आफ्नो भूमि तथा सैन्य अड्डा प्रयोग गर्न दिने खाडी मुलुकहरूलाई कडा चेतावनी दिएको छ। इरानले त्यस्ता देशलाई प्रत्यक्ष रूपमा निशाना बनाइने बताएको छ।
सोमबार इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाले हालै गरेको आक्रमणलाई युद्धविराम सम्झौताको उल्लंघन भन्दै कडा विरोध जनाएको छ। मन्त्रालयका अनुसार सम्झौता भएको २५ दिनमै अमेरिकाले त्यसका अधिकांश प्रावधान उल्लंघन गरेको आरोप लगाइएको छ।
इरानले अमेरिकामाथि आफ्नो देशका यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विज्ञान भवनलगायत सरकारी पूर्वाधारमा आक्रमण गरेको आरोप लगाउँदै त्यसलाई ‘गम्भीर युद्ध अपराध’को संज्ञा दिएको छ।
विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि छिमेकी राष्ट्रले आक्रमणकारी देशलाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न दिन नहुने उल्लेख गर्दै इरानविरुद्ध हुने आक्रमणमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबै पक्षलाई जवाफ दिइने चेतावनी दिइएको छ।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता अन्तिम चरणमा पुगेका बेला एउटा जहाजमाथि ड्रोन आक्रमण गरेको आरोप लगाएका छन्। सीएनएनसँगको कुराकानीमा ट्रम्पले इरान सम्झौतामा सहमत हुन लागेकै समयमा आक्रमण गरेको दाबी गर्दै त्यसको जवाफमा अमेरिकाले निकै कडा सैन्य कारबाही गरेको बताएका छन्।




