spot_img

बारामा वर्षासँगै किसान उत्साहित, ३० प्रतिशत धान रोपाइँ सकियो

spot_img
spot_img

बीरगन्ज,२९ असार । केही साताअघिसम्म वर्षाको अभावले प्रभावित बनेको बारा जिल्लाको धान रोपाइँ अहिले लगातारको वर्षासँगै तीव्र गतिमा अघि बढ्न थालेको छ। हालसम्म जिल्लाको करिब ३० प्रतिशत अर्थात् १३ हजार ५३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ।

कृषि ज्ञान केन्द्र बाराका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ गणेश महराका अनुसार गत वर्ष यही अवधिसम्म जिल्लामा करिब ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। त्यसको तुलनामा यस वर्ष रोपाइँ अझै १० प्रतिशतले पछाडि रहेको उनले जानकारी दिए।

उनका अनुसार असारको सुरुवाती चरणमा पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँ गर्न सकेका थिएनन्। तर पछिल्ला केही दिनदेखि निरन्तर मध्यमदेखि भारी वर्षा हुन थालेपछि खेतमा पर्याप्त पानी जमेको छ र किसानहरू धमाधम धान रोपाइँमा जुटेका छन्।

कृषि ज्ञान केन्द्रका अनुसार अहिले अधिकांश स्थानीय तहमा रोपाइँले गति लिइसकेको छ। मौसम यस्तै अनुकूल रहेमा आगामी केही दिनमै रोपाइँको प्रतिशत उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।

केन्द्रले अनुकूल मौसम कायम रहे बाँकी क्षेत्रफलमा पनि छिट्टै धान रोपाइँ सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय