काठमाडौँ,२९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सस्तो लोकप्रियतावाद (पपुलिजम), चर्का भाषण र परिवर्तनको भ्रमबाट मुलुकको रूपान्तरण सम्भव नहुने बताएका छन्। उनले देशलाई सही दिशामा अघि बढाउन वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले देशमा देखिएका विकृति, विसंगति र बेथिति अन्त्य गर्ने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पिनु नेपाली समाजको ठूलो भूल भएको टिप्पणी गरेका छन्।
उनले आफूभित्रकै आचरणगत कमजोरी र विकृतिलाई सुधार्न नसक्ने नेतृत्वबाट राजनीतिक सुधार र सुशासनको अपेक्षा गर्नु गलत भएको उल्लेख गर्दै, नेपाली समाजले यो यथार्थ विस्तारै महसुस गर्न थालेको दाबी गरेका छन्।
पोखरेलले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको व्यवहार र कार्यशैली नै विरोधाभासपूर्ण देखिएको बताएका छन्। उनका अनुसार यस्ता प्रवृत्तिबाट मुलुकको दीर्घकालीन रूपान्तरण सम्भव नभएको तथ्य अहिले स्पष्ट भइसकेको छ। देशको राजनीतिक नेतृत्वले लोकप्रिय नाराभन्दा पनि जिम्मेवार व्यवहार, स्पष्ट नीति र इमानदार कार्यशैलीलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।




