spot_img

काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

spot_img
spot_img

काठमाडौँ,२९ असार । बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोकका स–साना नदीमा आज आकस्मिक बाढी आउने उच्च जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दा र यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

सोमबार बिहान सार्वजनिक गरिएको तीनदिने बाढी पूर्वानुमान बुलेटिनअनुसार हाल देशका प्रमुख नदीहरू—कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। त्यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको जलसतह पनि हाल जोखिमको सीमाभन्दा तल रहेको महाशाखाले जनाएको छ।

यद्यपि, निरन्तर वर्षाका कारण काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रमा बहने स–साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने र बाढीको उच्च जोखिम रहने चेतावनी दिइएको छ।

त्यसैगरी पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलालीलगायत जिल्लाका स–साना नदीहरूमा पनि बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको र ती क्षेत्रमा मध्यम जोखिम रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार असार ३० र ३१ गते पनि सातै प्रदेशका विभिन्न स–साना नदी तथा खोलाहरूमा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना छ। त्यसैले नदी किनारमा बसोबास गर्ने, खोलानाला तर्ने तथा तटीय क्षेत्र भएर यात्रा गर्ने सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय