spot_img

पर्सासहित चार जिल्लाका ३५ स्थानीय तहमा आजदेखि एनसेलको थ्रीजी सेवा बन्द

spot_img
spot_img

वीरगन्ज,२९ असार । दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो नेटवर्कलाई आधुनिक प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार सोमबारदेखि पर्सासहित चार जिल्लाका ३५ स्थानीय तहमा थ्रीजी सेवा बन्द गरेको छ।

कम्पनीका अनुसार अब ती क्षेत्रमा फोरजी नेटवर्कलाई थप सुदृढ बनाउँदै ‘भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन’ (भोल्टे) प्रविधिमार्फत अझ स्पष्ट भ्वाइस कल र उच्च गुणस्तरको मोबाइल ब्रोडब्यान्ड सेवा उपलब्ध गराइनेछ।

यो चरणमा पर्सा, इलाम, पाँचथर र दाङ जिल्लाका विभिन्न स्थानीय तहमा रहेका २१५ भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गरिएको एनसेलले जनाएको छ। कम्पनीले देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा विस्थापित गर्दै फोरजीमा आधारित सेवा विस्तार गर्ने नीति कार्यान्वयन गरिरहेको छ।

थ्रीजी सेवा बन्द भएसँगै अझै थ्रीजी प्रयोग गरिरहेका ग्राहकले गुणस्तरीय सेवा लिन फोरजीमा अपग्रेड हुनुपर्नेछ। फोरजी चल्ने मोबाइल फोन, फोरजी सक्षम सिमकार्ड तथा मोबाइलको सेटिङमा भोल्टे सुविधा सक्रिय गरेपछि ग्राहकले उच्च गुणस्तरको भ्वाइस कल र तीव्र गतिको डेटा सेवा प्रयोग गर्न सक्नेछन्।

एनसेलका अनुसार हाल देशको करिब ९५ प्रतिशत जनसंख्या फोरजी सेवाको पहुँचमा पुगेको छ। थ्रीजी बन्द गर्नु पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक नेटवर्क विस्तार गर्ने दीर्घकालीन योजनाको हिस्सा भएको कम्पनीले जनाएको छ।

कम्पनीले सम्बन्धित क्षेत्रका ग्राहकलाई समयमै फोरजी र भोल्टे सेवामा अपग्रेड हुन आग्रह गर्दै यसबाट अतिरिक्त शुल्कबिना अझ उत्कृष्ट कनेक्टिभिटीको अनुभव प्राप्त हुने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय