काठमाडौं,२९ असार । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु नै आदिकवि भानुभक्त आचार्यप्रतिको सच्चा सम्मान हुने बताएका छन्।
२१३औँ भानु जयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले भानुभक्तको योगदानलाई केवल स्मरणमा सीमित नराखी त्यसलाई व्यवहारमा उतार्दै नेपाली भाषा र साहित्यलाई थप समृद्ध बनाउनुपर्नेमा जोड दिए।
उनले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक परिवेशका कारण भाषा, संस्कृति र मौलिक पहिचान जोगाउने चुनौती बढ्दै गएको उल्लेख गर्दै त्यसको संरक्षण सबै नेपालीको साझा जिम्मेवारी भएको बताए।
सभामुख अर्यालले भानुभक्तले अपनाएको सरल, स्पष्ट र जनमुखी अभिव्यक्तिको शैली आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्न आवश्यक रहेको धारणा राखे। उनले सृजनशीलता, नवप्रवर्तन र साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयअनुकूल रूपमा अघि बढाउनुपर्ने बताए।
उनका अनुसार भानुभक्तको सम्मानमा गरिने प्रत्येक कार्य नेपाली राष्ट्रियता, मौलिकता र सांस्कृतिक पहिचानको संरक्षणसँग जोडिएको छ।
सभामुख अर्यालले भानु जयन्ती केवल स्मरणको दिन नभई नेपाली भाषा, साहित्य र संस्कृतिलाई थप समृद्ध बनाउने सामूहिक संकल्प गर्ने अवसर भएको उल्लेख गर्दै यस जिम्मेवारीलाई सबैले मिलेर पूरा गर्नुपर्नेमा जोड दिए।




