जनकपुर,२९ असार । मिडिया काउन्सिल मधेश प्रदेशले पत्रकारिताको आचारसंहिताको प्रभावकारी कार्यान्वयनलाई केन्द्रमा राख्दै बर्दिबासमा नेपाल पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा पत्रकारितामा आचारसंहिताको पालना, जिम्मेवार सञ्चार अभ्यास, व्यावसायिक नैतिकता तथा बदलिँदो सञ्चार परिवेशमा देखिएका चुनौतीबारे सहभागीहरूबीच खुला छलफल भएको थियो। साथै, आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सञ्चारकर्मी, सञ्चारमाध्यम र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।
अन्तरक्रियामा नेपाल पत्रकार महासंघका पदाधिकारी, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा मिडिया काउन्सिल मधेश प्रदेशका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमले पत्रकारिताको विश्वसनीयता र उत्तरदायित्व अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।




