spot_img

प्रतिकूल मौसमका कारण भदौसम्म पोखरा–जोमसोम हवाई उडान बन्द

spot_img
spot_img

मुस्ताङ,२९ असार । लगातारको वर्षा र प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम नियमित हवाई सेवा भदौको पहिलो सातासम्म स्थगित गरिएको छ। कमजोर दृश्य क्षमता (भिजिबिलिटी) र असुरक्षित उडान अवस्थाका कारण जेठको तेस्रो सातादेखि यात्रुबाहक उडान रोकिएको हो।

जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार नियमित सेवा सञ्चालन गर्दै आएका तारा एयर र समिट एयरले वर्षायामभर सेवा स्थगित गरेका छन्। उहाँले बर्खा र जाडोयाममा मौसम प्रतिकूल रहने भएकाले नियमित उडान सञ्चालन गर्न कठिन हुने बताए। आवश्यक परे आपत्कालीन तथा चार्टर उडान भने सञ्चालन गरिने जनाइएको छ।

विमानस्थल प्रशासनका अनुसार निजी वायुसेवा कम्पनीहरूले भदौको पहिलो सातादेखि पुनः नियमित उडान सुरु गर्ने तयारी गरेका छन्। वर्षायाममा मौसम प्रतिकूल हुनुका साथै पर्यटकको आगमन पनि घट्ने भएकाले हवाई सेवामा असर पर्ने गरेको छ।

जोमसोममा ट्विनअटर विमानमार्फत यात्रु सेवा सञ्चालन हुँदै आएको छ। अत्यधिक हावाहुरी र मौसमको जोखिमका कारण पोखरा–जोमसोम उडान प्रायः बिहानको समयमा मात्रै सम्भव हुने गरेको छ।

नियमित हवाई सेवा बन्द भए पनि मुक्तिनाथ मन्दिर र दामोदर कुण्ड भ्रमणका लागि धार्मिक पर्यटकको आगमन भने जारी रहेको छ। हेलिकप्टरमार्फत हुने धार्मिक भ्रमणमा सुरक्षा निकायका एक प्रतिनिधिको अनिवार्य सहभागिता रहने व्यवस्था कायम छ।

मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनका अनुसार सडक सञ्जाल विस्तार र सहज पहुँचका कारण पछिल्ला वर्षहरूमा छोटो अवधिका स्वदेशी तथा विदेशी पर्यटकले सडक मार्गलाई बढी प्राथमिकता दिन थालेपछि हवाई यात्रुको चाप घट्दै गएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय