सर्लाही,२९ असार । लगातारको वर्षापछि सर्लाहीको मलङ्गवास्थित यातायात व्यवस्था कार्यालय डुबानमा परेपछि सेवा प्रवाह प्रभावित भएको छ। कार्यालयभित्रै पानी जम्दा सेवाग्राही र कर्मचारी दुवैले सास्ती खेप्नुपरेको छ।
आफ्नै भवन नहुँदा पुरानो जिल्ला विकास समिति (जिविस) को भवनबाट सञ्चालन भइरहेको कार्यालय सामान्य वर्षामै डुबानमा पर्ने गरेको छ। भवन गहिरो स्थानमा रहेको तथा वरपर अग्ला संरचना निर्माण भएपछि वर्षाको पानी निकास हुन नसक्दा कार्यालय परिसर र कोठाभित्र पानी जम्ने समस्या दोहोरिएको हो।
सेवा लिन पुगेका सेवाग्राहीहरू कार्यालय प्रवेश गर्न जुत्ता हातमा बोकेर र कपडा माथि सारेर हिँड्न बाध्य भएका छन्। भुइँमा लेउ लागेकाले चिप्लिने जोखिमसमेत बढेको उनीहरूको गुनासो छ।
कार्यालयभित्र पानी जमिरहँदा कम्प्युटर, फर्निचर, कागजातलगायत कार्यालयका सामग्रीमा क्षति पुग्ने जोखिम बढेको कर्मचारीहरूले बताएका छन्। ठूलो वर्षा हुँदा कार्यालय सञ्चालन गर्नसमेत कठिन हुने अवस्था रहेको उनीहरूको भनाइ छ।
कार्यालय प्रमुख राजकिशोर साहले आफ्नै भवन नहुँदा समस्या हुँदाहुँदै पनि पुरानै भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको बताए। उनका अनुसार गत वर्ष मलङ्गवा नगरपालिका–२ स्थित श्रीराम कविर मठले उपलब्ध गराएको नौ कठ्ठा जग्गामा नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको भए पनि जग्गासम्बन्धी मुद्दाका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन।
नयाँ भवन निर्माण प्रक्रिया अन्योलमा परेपछि पुरानो तथा डुबानग्रस्त भवनबाटै सेवा सञ्चालन गर्नुपर्दा सेवाग्राहीले दैनिक सास्ती भोग्नुपरेको छ।




