काठमाडौं,२९ असार । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापनका लागि सोमबार १५ अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल (अक्सन) गरिनेछ। बोलकबोलमा न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन रकम पाँच करोड रुपैयाँले भाग जाने गरी हुनुपर्नेछ।
बोलकबोलमा सहभागी संस्थाले आफूले निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलव पछिका चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ। यस ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने सावाँ र ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार बहु ब्याजदरमा समेत बोलकबोल गर्न सकिने व्यवस्था रहेको छ।
यस निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।




