काठमाडौँ,२९ असार । त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनाबारे अनुसन्धान अघि बढाउन उनका परिवारले प्रहरीमा किटानी जाहेरी दर्ता गराएका छन्।
गणेशका दाजु मदन नेपालीले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। जाहेरी दर्तासँगै घटनाको अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया औपचारिक रूपमा सुरु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार जाहेरी प्राप्त भएसँगै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई पत्राचार गरिएको छ। हाल गणेश नेपालीको शव शिक्षण अस्पतालमा राखिएको छ।
यसअघि आइतबार पीडित परिवार र सरकारबीच शव बुझ्ने, पोस्टमार्टमलगायतका कानुनी प्रक्रिया सहज रूपमा अघि बढाउने विषयमा ९ बुँदे सहमति भएको थियो।
मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीले असार २५ गते काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए। उपचारका क्रममा असार २६ गते वीर अस्पतालमा उनको निधन भएको थियो।
प्रारम्भिक जानकारीअनुसार महानगर प्रहरीसँग मोटरसाइकलमा लगाइएको ‘ह्विल लक’ सम्बन्धी विवादपछि उनले आत्मदाह गरेको बताइएको छ। घटनाको वास्तविक कारण र जिम्मेवारीबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।




