पर्सा,२९ असार । पर्सा जिल्लामा यस वर्ष हालसम्म करिब ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा यस वर्ष रोपाइँको गति केही सुस्त देखिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ।
कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत उमेश थापाका अनुसार जिल्लामा करिब ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म २७ हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। अझै २२ हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोप्न बाँकी रहेको उनले जानकारी दिए।
थापाका अनुसार गत वर्ष यही अवधिसम्म जिल्लामा करिब ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष भने मनसुन ढिलो भित्रिनु र समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको हो।
यद्यपि पछिल्ला केही दिनदेखि लगातार वर्षा हुन थालेपछि जिल्लाका अधिकांश क्षेत्रमा किसान धमाधम धान रोपाइँमा जुटेका छन्। खेतमा पर्याप्त पानी जमेसँगै रोपाइँले गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
मौसम आगामी केही दिन अनुकूल रहे बाँकी क्षेत्रफलमा पनि छिट्टै धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ। कृषि ज्ञान केन्द्रले किसानलाई मौसमको अवस्था हेरेर समयमै रोपाइँ सम्पन्न गर्न आग्रह गरेको छ।




