काठमाडौं,२९ असार । प्रधानमन्त्री बालेन शाहले देशभर जलनका बिरामीलाई सहज र गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा रहेका बर्न वार्डलाई सुदृढ बनाउने योजना पनि प्राथमिकताका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
उनले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै विशेषज्ञ उपचार पाउने सुनिश्चित गर्न संघ, प्रदेश र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे।
प्रधानमन्त्री शाहले गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउँदै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको विस्तार तथा सुशासनको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरे।
त्यस्तै, आर्थिक रूपमा विपन्न, असहाय तथा कमजोर वर्गका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन निजी अस्पतालले बहिरङ्ग (ओपीडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्न पनि उनले निर्देशन दिए।
प्रधानमन्त्रीले एक स्वास्थ्य संस्थाले विकास गरेका सफल अभ्यासलाई अन्य संस्थासँग साझेदारी गरी स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिए। साथै, स्वास्थ्य प्रतिष्ठानका नाममा रहेका जग्गा अतिक्रमणका समस्या सम्बन्धित निकायसँग समन्वय गरेर कानुनबमोजिम समाधान गरिने बताए।
छलफलमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको डिजिटल रूपान्तरणका विषयमा सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले केही प्रतिष्ठानको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।




