spot_img

रास्वपाको महाधिवेशनले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह

spot_img
spot_img

काठमाडौं,२९ असार । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज र त्यसले अघि सारेको विचारले मुलुकलाई सही दिशा दिन नसक्ने बताएका छन्।

सोमबार राजधानीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै साहले सरकारको एक सय दिनको कार्यसम्पादन र रास्वपाको महाधिवेशनबाट सार्वजनिक भएका नीति तथा दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गरे। उनका अनुसार वर्तमान नेतृत्वसँग मुलुकलाई सही मार्गमा अघि बढाउने स्पष्ट दृष्टि र सक्षम कार्ययोजना देखिएको छैन।

साहले वर्तमान नेतृत्वलाई ‘कागजी डुंगामा सवार’को संज्ञा दिँदै यस्ता नेतृत्वबाट देशको समस्या समाधान हुने अपेक्षा गर्न नसकिने टिप्पणी गरे।

रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेश संरचना खारेज गर्ने विषयलाई राजनीतिक दस्तावेजमा समेटेकोप्रति पनि उनले आपत्ति जनाए। प्रदेश संरचना खारेज गर्ने अवधारणाको आफूले सुरुदेखि नै विरोध गर्दै आएको उल्लेख गर्दै उनले यसलाई व्यवहारिक समाधानका रूपमा लिन नसकिने बताए।

संविधान संशोधनको सन्दर्भमा बोल्दै साहले सरकारले गम्भीर तयारीभन्दा पनि राजनीतिक प्रदर्शनमा केन्द्रित भएको आरोप लगाए। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयारी कार्यदलको वैधानिकतामाथि प्रश्न उठाउँदै उनले उक्त कार्यदल तत्काल खारेज गर्न माग गरे।

उनले संविधान संशोधनलाई प्रभावकारी बनाउन अनुभवी र विषयविज्ञ व्यक्तिहरूको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै हालको प्रक्रिया पर्याप्त विश्वासयोग्य नभएको दाबी गरे।

साहले संविधान जारी हुँदा नै आफूले त्यसको विरोध गरेको स्मरण गराउँदै वर्तमान राजनीतिक तथा संस्थागत समस्याले आफ्नो त्यतिबेलाको अडान सही सावित भएको दाबी गरे। उनले संविधान संशोधनको प्रक्रिया अघि बढाउँदा सबै सरोकारवाला राजनीतिक शक्तिसँग गम्भीर संवाद गर्नुपर्नेमा जोड दिँदै सरकारले ल्याउने संशोधन प्रस्तावले संसद्मा आवश्यक समर्थन नपाउने दाबी समेत गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय