काठमाडौँ,२९ असार । वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै केही समयका लागि रोकिएको बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले सोमबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै सडकको अवस्था सामान्य रहेकाले रोकिएका सवारीसाधनलाई पुनः गन्तव्यतर्फ जान दिइएको जनाएको हो।
यसअघि रोशी खोला क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै दिउँसो १२ः३३ बजेदेखि राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको थियो।
प्रहरीका अनुसार सडकको अवस्था सुरक्षित रहेको पुष्टि भएपछि राजमार्गमा सवारी सञ्चालन पुनः सुचारु गरिएको हो।
यद्यपि, निरन्तर वर्षाको सम्भावनालाई ध्यानमा राख्दै यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन, सावधानी अपनाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले सबै यात्रु तथा चालकलाई आग्रह गरेको छ।




