काठमाडाै,२९ असार । दाङमा शिक्षा शाखाका अधिकृतमाथि मोबिल छर्किएको आरोपमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी पक्राउ परेका छन्।
प्रहरीका अनुसार शनिबार शिक्षा महाशाखाका अधिकृत अजय बोहरा मोटरसाइकलमा सवार रहेका बेला बुढाथोकीले उनलाई रोकेर शरीरमा मोबिल छर्किएका थिए। घटनापछि उनी फरार भएका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन प्रभावित पार्ने उद्देश्यले उक्त घटना गराइएको आरोप लगाइएको छ।
बुढाथोकीविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा २०८३ असार २८ गते मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत दाङबाट पक्राउ पुर्जी जारी भएपछि सोमबार घोराही उपमहानगरपालिका–१५ बाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




