काठमाडाै,२९ असार । एम्नेस्टी इन्टरनेसनल नेपालले जेनजी अभियन्ता माजिद अन्सारीलाई बिना सर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। सोमबार जारी विज्ञप्तिमार्फत संस्थाले अन्सारीको गिरफ्तारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारको सम्मान गर्न आग्रह गरेको हो।
माजिद अन्सारीसहित जेनजी अभियन्ता सरिष्मा थापा र नेल्सन घतानीलाई शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुमवासीप्रति ऐक्यबद्धता जनाउन पुगेका बेला प्रहरीले पक्राउ गरेको थियो। उनीहरू हाल प्रहरी हिरासतमा रहेका छन्।
एम्नेस्टीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनुअघि गालीगलौज, कुटपिट तथा गैरकानुनी बल प्रयोग गरेको देखिन्छ। संस्थाले उक्त घटनाबाट माजिद अन्सारीको अनुहारमा चोट लागेको र रगतसमेत बगेको उल्लेख गर्दै निष्पक्ष छानबिनको आवश्यकता औंल्याएको छ।
एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले जबरजस्ती विस्थापित नागरिकहरूप्रति ऐक्यबद्धता जनाएकै कारण अभियन्ताहरूलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाले नेपालमा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार तथा व्यक्तिगत स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्। उनका अनुसार यस्तो घटनाले नागरिक स्वतन्त्रताको अवस्थाप्रति चिन्ता बढाएको संकेत गर्छ।
मानव अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको एम्नेस्टी इन्टरनेसनलले अभियन्ताहरूको गिरफ्तारीबारे स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न तथा माजिद अन्सारीलाई बिना सर्त रिहा गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।




