काठमाडाै,२९ असार । देशभर आइतबार भएका विभिन्न विपद्का घटनामा परी ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एकै दिन ४४ जिल्लाबाट ५५ वटा विपद्का घटना दर्ता भएका छन्।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार ती घटनाबाट २५६ परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै २० वटा पहिरोका घटना भएका छन्, जसमा २ जनाको मृत्यु, ५ जना घाइते तथा ७० परिवार प्रभावित भएका छन्।
त्यस्तै, १५ वटा सर्पदंशका घटनामा ३ जनाको ज्यान गएको छ। १३ वटा बाढीका घटनामा २ जनाको मृत्यु हुनुका साथै १ जना घाइते भएका छन् भने ६९ परिवार प्रभावित भएका छन्।
यस अवधिमा आगलागीका ३ वटा घटनामा १ जना घाइते भएका छन् र ११ परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार चरम वर्षाका कारण भएको क्षतिबाट करिब २५ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ।
प्राधिकरणले उक्त दिन सडक अवरोध तथा चौपाया क्षतिसम्बन्धी कुनै घटना दर्ता नभएको जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकाय परिचालन गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ।




