बीरगन्ज,२९ असार । बीरगन्जमा लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल–भारत मैत्री युवा संघ, पर्साले जनचेतनामूलक अभियान सञ्चालन गरेको छ। बीरगन्ज महानगरपालिकास्थित टाउन हल प्राङ्गणमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा युवासम्बद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
संघका अध्यक्ष शैलेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल–भारत मैत्री युवा संघका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, भारतको महावाणिज्य दूतावास वीरगञ्जका प्रतिनिधि देवी सहाय मीना, मधेश प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले लागुऔषध दुव्र्यसन युवापुस्ताका साथै समग्र समाजकै लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि परिवार, विद्यालय, समुदाय र सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनीहरूले युवामा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र स्वस्थ जीवनशैलीको विकास गर्न यस्ता अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए।
आयोजकका अनुसार अभियानको मुख्य उद्देश्य युवालाई लागुऔषधको दुष्प्रभावबारे सचेत गराउनु, सामाजिक जिम्मेवारीप्रति प्रेरित गर्नु तथा स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणमा सबै पक्षको सक्रिय सहभागिता सुनिश्चित गर्नु हो।
कार्यक्रममा सहभागीहरूले यस्ता जनचेतनामूलक अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।




