काठमाडौं,२९ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रमा नागरिकको प्रश्न गर्ने अधिकार र त्यसका लागि आवश्यक हिम्मत कुनै पनि शक्तिले खोस्न नसक्ने बताएका छन्।
सोमबार पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै थापाले आफ्नो पुरानो घर रहेको रातोपुल क्षेत्रमा शंकास्पद रूपमा एउटा गाडी राखिएको घटनाप्रति संकेत गर्दै सरकार नै प्रश्न उठाउनेहरूको आवाज दबाउन लागेको आरोप लगाए।
उनले उक्त गाडी राख्ने व्यक्ति प्रशासनको सवारी साधनमा त्यहाँबाट गएको भन्ने स्थानीयको जानकारी आफूले पाएको दाबी गर्दै यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए।
थापाले सरकारले आलोचना र प्रश्नलाई स्वीकार गर्नुपर्नेमा उल्टै प्रश्न गर्नेहरूलाई तर्साउने प्रयास भइरहेको टिप्पणी गरे। “हाम्रो प्रश्न गर्ने अधिकार र हिम्मत कसैले खोस्न सक्दैन,” उनले भने, “लोकतन्त्रमा प्रश्न उठाउनु नागरिकको अधिकार हो, त्यसलाई कुनै पनि माध्यमबाट दबाउन खोजिनु दुर्भाग्यपूर्ण हो।”
उनले विगतमा पनि यस्तै प्रवृत्तिका कारण राजनीतिक दलहरूले जनविश्वास गुमाएको स्मरण गराउँदै इतिहासबाट पाठ सिक्न सरकारलाई आग्रह गरे। लोकतान्त्रिक व्यवस्थामा असहमति, आलोचना र प्रश्नलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ थियो।
थापाले नेपाली कांग्रेस प्रश्न गर्ने अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर उभिने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने कुनै पनि गतिविधिप्रति सजग रहन सबैलाई आग्रह गरे। उनले लोकतन्त्रको रक्षा नागरिकको स्वतन्त्र आवाजबाट हुने भएकाले त्यसलाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने धारणा व्यक्त गरे।




