काठमाडौं,२९ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अन्तर्राष्ट्रिय संस्था तथा विदेशी विज्ञसँग सहकार्य गर्दा विवेकपूर्ण ढंगले अघि बढ्नुपर्ने भन्दै विदेशबाट आएका सबै व्यक्तिलाई स्वतः विज्ञ मान्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले विदेशी अनुभव उपयोगी भए पनि त्यसको विश्वसनीयता, आवश्यकता र सान्दर्भिकता मूल्याङ्कन गरेर मात्र सहकार्य गर्नुपर्ने धारणा राखे।
उनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न विशेष जोड दिँदै अध्ययन, अनुगमन र मूल्याङ्कनका प्रतिवेदन तयार गरेर थन्क्याउने पुरानो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।
मन्त्री पुनका अनुसार प्रतिवेदन तयार गर्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई कार्यान्वयनमा लैजाने स्पष्ट संयन्त्र, जिम्मेवारी र प्रभावकारी निर्देशन पनि आवश्यक हुन्छ। विगतमा विभिन्न आयोग र समितिले तयार पारेका धेरै प्रतिवेदन कार्यान्वयन नहुँदा अपेक्षित सुधार हुन नसकेको उनले स्मरण गराए।
उनले विधि विज्ञान प्रयोगशालामा कार्यरत प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि नियमित र गुणस्तरीय तालिम आवश्यक रहेको उल्लेख गर्दै त्यस्ता तालिममा सम्बन्धित क्षेत्रका दक्ष प्राविधिक र विषयविज्ञलाई मात्र सहभागी गराउनुपर्नेमा जोड दिए।




