spot_img

सप्तकोसीमा पानीको बहाव बढ्यो, कोसी ब्यारेजमा रातो सङ्केत जारी

spot_img
spot_img

जनकपुर,३० असार । पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। बहाव जोखिमको तह नजिक पुगेपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत फहराइएको छ।

सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार पछिल्लो मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव प्रति सेकेन्ड १ लाख ७२ हजार ४ सय ३२ क्युसेक पुगेको छ। नदीको सतह निरन्तर बढिरहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

पानीको चाप बढ्दै गएपछि कोसी ब्यारेज प्रशासनले ढोका खोल्ने क्रम पनि विस्तार गरेको छ। नियन्त्रण कक्षका अनुसार ब्यारेजका ५६ वटा ढोकामध्ये हाल २० वटा ढोका पूर्ण रूपमा खोलिएको छ। बहाव थप बढेमा आवश्यकता अनुसार अन्य ढोकासमेत खोल्ने तयारी गरिएको जनाइएको छ।

नदीको बहाव बढेसँगै तल्लो तटीय क्षेत्र तथा श्रीलंका टापु आसपास डुबानको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, माछा मार्न तथा दाउरा संकलनका लागि नदीमा नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्भावित विपद्लाई ध्यानमा राख्दै सुनसरी र सप्तरीका सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने आवश्यक उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय