काठमाडौं,३० असार । वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकमध्ये मलेसियामा कार्यरत श्रमिकको औसत मासिक आम्दानी सबैभन्दा बढी रहेको पाइएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘आप्रवासी भर्ना लागत सर्वेक्षण–२०२३’ अनुसार मलेसियामा काम गर्ने नेपालीले औसत मासिक ५७ हजार ६९६ रुपैयाँ कमाउने गरेका छन्।
सर्वेक्षणअनुसार मलेसियापछि कतार र संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली श्रमिकको औसत मासिक आम्दानी करिब ५५ हजार रुपैयाँ रहेको छ। भारतमा काम गर्ने नेपालीको औसत मासिक आम्दानी भने २६ हजार ८३ रुपैयाँ मात्रै रहेको प्रतिवेदनले देखाएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा विदेशबाट फर्किएका नेपाली श्रमिकसँग गरिएको अध्ययनका आधारमा तयार पारिएको यो पहिलो सर्वेक्षण हो।
प्रतिवेदनले लिङ्ग र सीपका आधारमा आम्दानीमा उल्लेखनीय असमानता रहेको पनि देखाएको छ। पुरुष श्रमिकको औसत मासिक आम्दानी ६४ हजार ७२१ रुपैयाँ हुँदा महिलाको औसत आम्दानी ४८ हजार ६४७ रुपैयाँ मात्र रहेको छ।
सीपका आधारमा हेर्दा उच्च सीपयुक्त श्रमिकले औसत ६९ हजार ८९१ रुपैयाँ कमाउने गरेका छन्। सेवाक्षेत्रमा कार्यरत श्रमिकको औसत आम्दानी ६५ हजार ३४५ रुपैयाँ रहेको छ भने कृषिक्षेत्रमा काम गर्ने श्रमिकको आम्दानी सबैभन्दा कम, ३४ हजार ५२८ रुपैयाँ रहेको सर्वेक्षणले जनाएको छ।
सर्वेक्षणले खाडी मुलुक र मलेसियाका लागि लागू गरिएको निःशुल्क भिसा र टिकट सम्बन्धी सरकारी नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको पनि औंल्याएको छ। सहभागीमध्ये ३४.७ प्रतिशत श्रमिकले मात्र कुनै भर्ना लागत नतिरी वैदेशिक रोजगारीमा गएको बताएका छन्। शून्य लागतमा विदेश जानेमध्ये महिलाको हिस्सा ५४.२ प्रतिशत रहेको छ भने पुरुषको ३३.२ प्रतिशत छ।
वैदेशिक रोजगारीमा जान महिलाले औसत २ लाख १९ हजार ३६२ रुपैयाँ र पुरुषले १ लाख ७६ हजार ६८६ रुपैयाँ खर्च गर्ने गरेको तथ्याङ्कले देखाएको छ। उक्त खर्च उठाउन पुरुषलाई औसत ३.३ महिना र महिलालाई ४.५ महिनाको तलब खर्चनुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।




