काठमाडौं,३० असार। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालमा भित्रिने रेमिट्यान्स उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.२ प्रतिशतले बढी हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय पनि बढेर २३ खर्ब २१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय १६ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो।
यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि बढेको छ। ११ महिनामा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ६७ हजार २११ पुगेको छ भने पुनः श्रम स्वीकृति लिने ३ लाख ५५ हजार ७३५ जना रहेका छन्। यसरी कुल ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।




