काठमाडौँ,३० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर तथा ‘फादर अमिर’ शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारको तर्फबाट श्रद्धाञ्जली तथा शोक व्यक्त गर्न आज कतार प्रस्थान गर्ने भएका छन्।
उपराष्ट्रपति कार्यालयका अनुसार यादव दिउँसो कतार प्रस्थान गर्नेछन्। उनी साउन ३० देखि साउन ३२ गतेसम्म कतारको औपचारिक भ्रमणमा रहने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा साउन ३१ गते उपराष्ट्रपति यादवले कतारका वर्तमान अमिर शेख तमिम बिन हमाद अल थानीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। सो अवसरमा उनले राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको शोक सन्देश कतारी अमिरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादवले उच्चपदस्थ सरकारी अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। भ्रमण सम्पन्न गरी उनी साउन ३२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ।




