spot_img

लगातार वर्षाले मधेशमा गर्मीबाट राहत, धान रोपाइँले गति लियो

spot_img
spot_img

बीरगन्ज,३० असार । तीन दिनदेखि निरन्तर भइरहेको वर्षाले मधेश प्रदेशमा चर्को गर्मी कम हुनुका साथै धान रोपाइँले तीव्रता पाएको छ। केही दिनअघिसम्म खडेरीका कारण प्रभावित किसान अहिले पर्याप्त पानी पाएपछि खेतमा व्यस्त भएका छन्।

आइतबार रातिदेखि प्रदेशका अधिकांश जिल्लामा निरन्तर सिमसिम वर्षा भइरहेको छ। ठूलो वर्षा नभए पनि लगातार परेको पानीले तापक्रम घटेको र सर्वसाधारणले गर्मीबाट राहत महसुस गरेका छन्।

वर्षासँगै केही दिनअघिसम्म सुक्खा देखिएका खोलानालामा पानीको बहाव बढेको छ भने सिँचाइ अभावका कारण रोकिएको धान रोपाइँले गति लिएको छ। कृषि कार्यालयहरूका अनुसार अब केही दिनभित्रै प्रदेशका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ।

यद्यपि, निरन्तर वर्षाले जनजीवनमा केही समस्या पनि थपेको छ। सर्लाही, महोत्तरी, धनुषा र सिरहामा निर्माणाधीन पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग हिलाम्मे बनेपछि यात्रु र सवारी चालकले सास्ती भोगिरहेका छन्। पानी जम्ने क्षेत्र जलमग्न हुँदा आवतजावतमा समेत कठिनाइ भएको छ।

लगातारको वर्षापछि बागमती, लालबकैया, बकैया, लखन्देही, रातु, कमला र कोशीलगायत नदी तथा खोलाको जलसतह बढ्न थालेपछि स्थानीय प्रशासनले सतर्कता अपनाएको छ। सम्भावित बाढी तथा डुबानलाई ध्यानमा राख्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको जनाइएको छ।

जिल्ला प्रशासनका अनुसार हालसम्म ठूलो डुबान वा मानवीय क्षतिको घटना भने भएको छैन। तर, कच्ची घरमा सामान्य क्षति, सडकमा पानी जम्ने समस्या तथा केही स्थानमा विद्युत् आपूर्तिमा अवरोध देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय