काठमाडौँ,३० असार । लगातारको वर्षाका कारण चितवनका विभिन्न स्थानमा डुबान भएको छ। वर्षाले भरतपुर आसपासका क्षेत्रका सडक जलमग्न भएका छन् भने केही घरमा समेत पानी पसेको छ।
जल तथा मौसम विज्ञान विभाग, जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा चितवनको नारायणी आसपास क्षेत्रमा सबैभन्दा बढी वर्षा मापन गरिएको छ। निरन्तरको वर्षापछि नारायणी नदीको जलसतह समेत बढेको छ।
वर्षाका कारण चितवनका केही तल्लो भू–भागमा पानी जमेको र स्थानीय जनजीवन प्रभावित भएको छ। प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
यसैबीच, पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटाएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको छ। तर, माथिबाट ढुंगा खस्ने क्रम जारी रहेकाले उक्त सडकखण्डमा जोखिम कायमै रहेको चितवन प्रहरीले जनाएको छ।




