काठमाडौं,३० असार । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले धारणा राख्न समय उपलब्ध गराउनुभएको थियो।
सांसद गणेशसिंह ठगुन्नाले सुकुमवासीको समस्या थप जटिल बन्नुअघि नै समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो। उहाँले प्रधानमन्त्रीले केही समयअघि संसदमा सीमा सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन पनि माग गर्नुभयो।
सांसद रमेशकुमार मल्लले आत्मदाह गरेका गणेश नेपालीप्रति प्रहरीले देखाएको व्यवहार दुःखद रहेको उल्लेख गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताउनुभयो।
त्यसैगरी, सांसद आरेन राईले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति अनुचित रहेको टिप्पणी गर्दै सरकारलाई श्रमिक, गरिब तथा सुकुमवासी नागरिकको हितमा प्रभावकारी काम गर्न आग्रह गर्नुभयो।
सांसद ज्ञानबहादुर शाहीले नागरिकलाई बाँच्न पाउने आधारबाट वञ्चित गर्न नहुने उल्लेख गर्दै गणेश नेपालीको आत्मदाह प्रकरणमा जिम्मेवार व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गर्नुभयो।
सांसद निष्कल राईले लोकतन्त्रको मूल आधार जवाफदेहिता र नागरिकको प्रश्न गर्ने अधिकार भएको बताउँदै अभिव्यक्ति स्वतन्त्रतामा कुनै पनि प्रकारको अंकुश लगाउन नहुने धारणा राख्नुभयो।
उहाँले एक नागरिक आत्मदाह गर्न बाध्य भएको घटनाप्रति सरकार थप संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो।




