spot_img

ट्राफिक नियम उल्लंघनमा एकैपटक ५० हजार जरिवाना लाग्दैन : मन्त्री लम्साल

spot_img
spot_img

काठमाडौँ,३० असार ।  पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ट्राफिक नियम उल्लंघन गरेबापत तत्कालै ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भन्ने चर्चा गलत भएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो स्पष्ट पारेका हुन्।

मन्त्री लम्सालका अनुसार सामान्य अवस्थामा ट्राफिक नियम उल्लंघन गर्दा ५०० रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था रहेको छ। तर, एउटै गल्ती पटक–पटक दोहोर्‍याउने अवस्थामा भने कानुनअनुसार जरिवाना बढ्दै जाँदा अधिकतम ५० हजार रुपैयाँसम्म पुग्न सक्ने व्यवस्था रहेको उनले बताए।

“एकैपटक ५० हजार रुपैयाँ जरिवाना तोकिएको होइन, तर यस विषयलाई गलत रूपमा प्रचार गरिएको छ,” उनले भने।

यसैबीच, १० हजार रुपैयाँ जरिवाना तिर्न नसकेर गणेश नेपालीले आत्मदाह गरेको भन्ने हल्ला पनि सत्य नभएको मन्त्री लम्सालले दाबी गरे। उनका अनुसार नेपालीमाथि त्यस्तो कुनै जरिवाना लगाइएको थिएन। आर्थिक समस्या, समयमै न्याय नपाउनु र सामाजिक विकृतिका कारण यस्ता दुःखद घटना हुने गरेको भन्दै उनले घटनालाई जरिवानासँग जोडेर भ्रम फैलाइएको बताए।

मन्त्री लम्सालले सडक सुरक्षाको अवस्था गम्भीर रहेको उल्लेख गर्दै पछिल्लो पाँच वर्षमा देशभर १ लाख २५ हजार ५६४ वटा सडक दुर्घटना भएको जानकारी दिए। ती दुर्घटनामा १२ हजार ४५२ जनाले ज्यान गुमाएको उनले बताए।

उनले सडक संरचना सुधार र स्तरोन्नतिको काम अघि बढिरहेको जानकारी दिँदै सुरक्षित यातायातका लागि पूर्वाधार विकास र ट्राफिक नियम पालनामा सबैको भूमिका महत्वपूर्ण हुने बताए।

पूर्वाधार क्षेत्रको सुधारबारे बोल्दै मन्त्री लम्सालले लामो समयदेखि चर्चामा रहेको सार्वजनिक खरिद ऐन संशोधनको काम वर्तमान सरकारले १०० दिनभित्र सम्पन्न गरेको दाबी गरे। विगतमा न्यूनतम कबोल (लो बिडिङ) प्रणालीका कारण अव्यावहारिक ठेक्का बढेको भन्दै उनले नयाँ व्यवस्थामा औसत कबोल (एभरेज बिडिङ) प्रणाली लागू गरिएको बताए।

यसले निर्माण क्षेत्रमा आर्थिक गतिविधि बढाउने, बजारमा पैसाको प्रवाह विस्तार गर्ने र वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्कन सहयोग पुग्ने उनको भनाइ थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय