spot_img

मिटरब्याजी पीडितलाई बाटोमै भेटे गृहमन्त्री

spot_img
spot_img

काठमाडौँ,३० असार । काठमाडौँतर्फ पैदल मार्चमा रहेका मिटरब्याजी पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटवार्ता गरेका छन्। छ दिनको पैदल यात्रापछि निजगढ पुगेका पीडितहरूलाई प्रहरीले केही समय रोकेर गृहमन्त्रीसँग छलफलको व्यवस्था गरेको थियो।

काठमाडौँतर्फ प्रस्थान गर्न लागेका पीडितहरूसँग भेट गर्दै गृहमन्त्री गुरुङले उनीहरूको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए। उनले थप मागहरू भए लिखित रूपमा बुझाउन आग्रह गर्दै आफूले तत्कालै पहल गर्ने प्रतिबद्धता जनाए।

गृहमन्त्रीले आफू केही दिन यही क्षेत्रमा रहने भएकाले सम्भव भएसम्म स्थानीय स्तरबाटै समस्या समाधानको प्रयास गर्ने बताएका थिए। तर, पीडितहरूले यसअघि पनि पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन नभएको भन्दै पहिले भएका अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखे।

मिटरब्याजी पीडित आन्दोलनका अगुवा मनोज पासवानले विगतका सहमति कार्यान्वयन नभएकाले अब नयाँ वार्ताभन्दा पहिले आयोगका प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताए। उनले प्रतिवेदनको आधारमा मात्रै थप मागहरू सरकारसमक्ष पेस गर्ने स्पष्ट पारे।

पीडितहरूको मागपछि गृहमन्त्री गुरुङले गृह मन्त्रालयमा फोन गरेर मिटरब्याजसम्बन्धी अध्ययन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका छन्। यद्यपि, समाचार तयार पार्दासम्म उक्त प्रतिवेदन सार्वजनिक भएको छैन।

पासवानका अनुसार प्रतिवेदन सार्वजनिक भएपछि मात्रै सरकारसँग औपचारिक छलफल अघि बढाइनेछ। उनले आज साँझसम्म प्रतिवेदन सार्वजनिक नभए पुनः काठमाडौँतर्फ पैदल यात्रा सुरु गर्ने चेतावनी दिए।

“हामी माग पूरा गराउनकै लागि काठमाडौँ जाँदैछौँ। बाटोमै समस्या समाधान हुन्छ भने त्यो हाम्रो लागि सकारात्मक कुरा हो,” पासवानले भने।

मिटरब्याजी पीडितहरूको आन्दोलनपछि सरकारले समस्या अध्ययन गर्न विभिन्न समयमा गौरीबहादुर कार्की, तेजबहादुर कार्की र बाबुराम रेग्मीको संयोजकत्वमा आयोग गठन गरेको थियो। तीमध्ये गौरीबहादुर कार्की आयोगले मात्र सरकारलाई प्रतिवेदन बुझाएको छ भने अन्य दुई आयोगले हालसम्म प्रतिवेदन बुझाएका छैनन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय