काठमाडौं,३० असार । सरकारले सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका विद्यार्थीलाई विद्यालय आवतजावतका लागि बस सेवा सञ्चालन गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मंगलबारदेखि भक्तपुरको खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरका विद्यार्थीका लागि दुई वटा बस सञ्चालनमा ल्याइएको हो। समस्या समाधान नभएसम्म विद्यार्थीलाई नियमित रूपमा विद्यालय पुर्याउने र फिर्ता ल्याउने व्यवस्था मिलाइएको उनले बताए।
मन्त्री पोखरेलका अनुसार खरिपाटीमा २१ जना र बोडेमा १८ जना विद्यार्थी रहेका छन्। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट उनीहरूलाई खरिपाटी र बोडेमा स्थानान्तरण गरिएको हो।
उनले विद्यार्थीलाई विद्यालय परिवर्तनको विकल्पबारे छलफल भए पनि अधिकांशले आफू अध्ययन गरिरहेको पुरानै विद्यालयमा पढ्न चाहेको बताए। साथै, कीर्तिपुरमा आएको बाढीका कारण कापी–किताब नष्ट भएका विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराइएको जानकारी दिए।




