राैतहट,३१ असार । रौतहटको गरुडा नगरपालिका–९ गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्की आगो लगाएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शङ्करप्रसाद आचार्यका अनुसार सहनी केही दिनदेखि मानसिक तनावमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि परिवारका सदस्यले तत्काल उनलाई गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ।
प्रहरीका अनुसार सहनीको घाँटीदेखि तल शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ.




