spot_img

सडक विस्तार र वर्षायामको चुनौतीबीच २४सै घण्टा तयारी अवस्थामा रहन वीरगन्ज नगरप्रहरीलाई निर्देशन

spot_img
spot_img

वीरगन्ज,३१ असार । वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले सडक विस्तारको काम र वर्षायामका कारण उत्पन्न चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न नगरप्रहरीलाई चौबिसै घण्टा तयारी अवस्थामा रही नागरिकको सेवामा खटिन निर्देशन दिएका छन्।

मंगलबार महानगरपालिकामा आयोजित नगरप्रहरीको रोलकल (हाजिरी तथा निरीक्षण) कार्यक्रममा कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले संयुक्त रूपमा नगरप्रहरीलाई आवश्यक निर्देशन दिएका हुन्।

कार्यवाहक प्रमुख आलमले सडक विस्तारका कारण सहरको व्यवस्थापनमा चुनौती थपिएको र वर्षायामका कारण नाला, ट्राफिक तथा आवागमनमा समस्या बढेकाले नगरप्रहरीको भूमिका अझ महत्वपूर्ण बनेको बताए। उनले नागरिकको अपेक्षाअनुसार छिटो, प्रभावकारी र जिम्मेवार सेवा दिन नगरप्रहरी सधैं सतर्क रहनुपर्नेमा जोड दिए।

प्रमुख प्रशासकीय अधिकृत बोहराले सीमित स्रोत–साधनका बाबजुद नगरवासीको सुरक्षा, सार्वजनिक सम्पत्ति संरक्षण तथा महानगरको व्यवस्थापनमा नगरप्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले आवश्यक सुरक्षा सामग्री छिट्टै उपलब्ध गराइने प्रतिबद्धता जनाउँदै अनुशासन, जिम्मेवारी र चेन अफ कमान्डको पूर्ण पालना गर्न निर्देशन दिए।

उनले कर्मचारीको नियुक्तिको प्रकृति जस्तोसुकै भए पनि सबैले समान जिम्मेवारीका साथ इमानदारीपूर्वक काम गर्नुपर्ने बताउँदै अनुशासनहीन गतिविधिमा संलग्न हुनेमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिए।

नगरप्रहरीसम्बन्धी गुनासोप्रति महानगर गम्भीर रहेको उल्लेख गर्दै बोहराले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन र आगामी गहवामाई रथयात्राको सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त बनाउन विशेष सतर्कता अपनाउन नगरप्रहरीलाई निर्देशन दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय