बीरगन्ज,३१ असार । मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले १०९ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गमा चितवनबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको जीप जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार जीपको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा बेरिएका १५ वटा पोकाभित्र लुकाइराखिएको १०९.०९६ किलोग्राम गाँजा फेला परेको थियो।
घटनामा संलग्न रहेको आरोपमा धादिङको गजुरी नगरपालिका–७ किरानचोक निवासी ४१ वर्षीय सुमन तामाङ र १८ वर्षीय इरोज तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बरामद गाँजा, जीप तथा दुवै पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




