काठमाडौं,३१ असार । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्। कांग्रेसले भने उनीहरूको स्थानमा तत्काल नयाँ मन्त्री नियुक्तिका लागि नाम नपठाउने निर्णय गरेको छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले तत्काल नयाँ मन्त्रीको सूची प्रदेश सरकारलाई नबुझाउने जानकारी दिएका हुन्। उनका अनुसार कर्णालीसहित अन्य प्रदेश सरकारको नेतृत्व र सत्ता समीकरणबारे हुने थप राजनीतिक छलफलपछि मात्रै आवश्यक निर्णय गरिनेछ।
राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन्।
उपसभापति शर्माले मन्त्रीहरूको सामूहिक राजीनामालाई कांग्रेस र एमालेबीच यसअघि भएको राजनीतिक समझदारीको निरन्तरताका रूपमा लिनुपर्ने बताए। उनका अनुसार बजेट पारित भएपछि प्रदेश सरकारहरूको नेतृत्व परिवर्तन गर्ने विषयमा दुई दलबीच यसअघि नै छलफल भएको थियो।
राजीनामा दिएका मन्त्री सुरेश अधिकारीले कांग्रेस र एमालेबीच आलोपालो मुख्यमन्त्री बनाउने सहमति भए पनि एमालेले त्यसलाई कार्यान्वयन नगरेकाले आफूहरू सरकारबाट बाहिरिएको बताए।
हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेका मुख्यमन्त्री यामलाल कँडेलले गरिरहेका छन्। उनी २०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएसँगै २०८१ साउनमा कांग्रेस पनि कर्णाली सरकारमा सहभागी भएको थियो।
कांग्रेसका चार मन्त्रीको राजीनामासँगै कर्णाली प्रदेशको सत्ता समीकरण फेरिने सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।




