spot_img

टिकट शुल्क विवादले जानकी मन्दिरको विवाह मण्डप र संग्रहालयमा तालाबन्दी

spot_img
spot_img

जनकपुर,३१ असार । टिकट शुल्कको विषयलाई लिएर मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो र जानकी मन्दिर व्यवस्थापनबीच विवाद चर्किएपछि जनकपुरधामस्थित जानकी मन्दिर परिसरको विवाह मण्डप र विद्युतीय संग्रहालयमा पहिलोपटक तालाबन्दी गरिएको छ।

विवाह मण्डप र विद्युतीय संग्रहालय शुक्रबारदेखि बन्द भएपछि अवलोकनका लागि पुगेका स्वदेशी तथा विदेशी श्रद्धालु तथा पर्यटक प्रभावित भएका छन्। संग्रहालयमा आधुनिक प्रविधिमार्फत माता सीताको जन्मदेखि विवाहसम्मको जीवनयात्रा प्रस्तुत गरिएको छ।

विवादको मुख्य कारण प्रवेश शुल्क बनेको छ। मन्त्री महतोले सार्वजनिक धार्मिक सम्पदामा प्रवेश शुल्क असुल्नु अनुचित भएको भन्दै टिकट बिक्री रोक्न निर्देशन दिएका थिए। त्यसक्रममा टिकट नियन्त्रणमा लिएपछि विरोधस्वरूप मन्दिर व्यवस्थापनले विवाह मण्डप र संग्रहालयमा तालाबन्दी गरेको जनाएको छ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले कुनै पूर्वसमन्वय वा कानुनी प्रक्रिया नअपनाई मन्त्रीले टिकट नियन्त्रणमा लिएको आरोप लगाएका छन्। उनका अनुसार मन्दिरको पूजा–पाठ, सरसफाइ, संरक्षण तथा दैनिक व्यवस्थापनका लागि आवश्यक खर्च जुटाउन विवाह मण्डप र संग्रहालय सञ्चालन प्रत्येक वर्ष ठेक्कामार्फत दिइँदै आएको छ।

हाल संग्रहालय प्रवेशका लागि १५ रुपैयाँ र विवाह मण्डप अवलोकनका लागि १० रुपैयाँ शुल्क लिँदै आएको मन्दिर व्यवस्थापनको भनाइ छ। सरकारले कुनै आर्थिक सहयोग नगरेकाले यही आम्दानीबाट मन्दिर सञ्चालन हुँदै आएको दाबी गर्दै आवश्यक परे आय–व्ययको विवरण उपलब्ध गराउन तयार रहेको महन्थ वैष्णवले बताएका छन्।

यता मन्त्री महतोले जानकी मन्दिर सार्वजनिक धार्मिक सम्पदा भएकाले श्रद्धालुसँग प्रवेश शुल्क उठाउनु उचित नभएको अडान दोहोर्याएका छन्। उनले शुल्क हटाउन पटक–पटक आग्रह गर्दा पनि व्यवस्थापन पक्षले बेवास्ता गरेपछि टिकट नियन्त्रणमा लिनुपरेको प्रतिक्रिया दिएका छन्। साथै, मन्दिरले कसको स्वीकृतिमा ठेक्का दिएको र हालसम्म आय–व्यय सार्वजनिक नगरेको विषयमा पनि उनले प्रश्न उठाएका छन्।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको विद्युतीय संग्रहालय तथा धार्मिक विश्वासअनुसार भगवान राम–सीताको विवाह सम्पन्न भएको मानिने ऐतिहासिक विवाह मण्डप जनकपुरधामका प्रमुख धार्मिक तथा पर्यटकीय आकर्षण हुन्। यी दुवै संरचनामा पहिलोपटक तालाबन्दी भएपछि धार्मिक पर्यटन र श्रद्धालुको आवागमनमा समेत असर पर्ने देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय