काठमाडौं,३१ असार । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्।
बुधबार बिहान माइतीघरमा भेला भएका किसानहरूले आफ्नै कृषि फार्मबाट ल्याएको गोलभेँडा सडकमा पोख्दै सरकारको कृषि नीति र बजार व्यवस्थापनप्रति असन्तुष्टि जनाएका हुन्।
प्रदर्शनमा सहभागी किसान बम तामाङका अनुसार किसानले उत्पादन गरेको गोलभेँडाले उचित मूल्य नपाउँदा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ। उनले कृषि उपजको मूल्य निर्धारणमा बिचौलियाको प्रभाव अन्त्य गर्न सरकारसँग माग गरे।
प्रदर्शनका क्रममा किसानहरूले ‘गोलभेँडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य तोक’, ‘कृषि बिमा लागू गर’, ‘बिचौलिया हटाऊ, किसान बचाऊ’ लगायतका नारा लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।
किसानहरूले कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, प्रभावकारी बजार व्यवस्थापन गर्न र किसानमैत्री नीति लागू गर्न सरकारसँग माग गरेका छन्।




