बीरगन्ज,३१ असार । जबरजस्ती करणी मुद्दामा अदालतबाट सात वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी रोहण केशरीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला अदालतले २०८१ असार २३ गते केशरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख ३७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
फैसला पछि फरार रहेका उनलाई सोमबार काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट नजिक गोल्डेन गेट क्षेत्रबाट पक्राउ गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका केशरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।




