काठमाडौं,३१ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका विज्ञहरूलाई नेपालको विज्ञान, प्रविधि र नवप्रवर्तन विकासमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।
विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोडेर देशको दिगो आर्थिक रूपान्तरण सम्भव हुने उल्लेख गर्दै उनले त्यसका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।
विदेशमा कार्यरत नेपाली विज्ञहरूसँगको छलफल कार्यक्रममा मन्त्री पुनले नवगठित मन्त्रालयले शून्यबाट काम सुरु गरेको बताउँदै हालसम्म आवश्यक प्राविधिक टोली, कार्यसंरचना र कानुनी आधार तयार नभएको स्वीकार गरे। उनले आगामी तीन महिनाभित्र मन्त्रालयको संस्थागत संरचना मजबुत बनाइने जानकारी दिए।
उनले विश्वविद्यालयका अनुसन्धानलाई प्रयोगशालामै सीमित नराखी उत्पादन र उद्यमसँग जोड्ने उद्देश्यले राष्ट्रियस्तरमा नवप्रवर्तन तथा उत्कृष्टता केन्द्र स्थापना गर्ने र आवासीय सुविधासहित अनुसन्धान केन्द्र विकास गर्ने योजना रहेको बताए। साथै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ऐन परिमार्जन, सूचना प्रविधि (आईटी) र कृत्रिम बौद्धिकता (एआई) लाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाइएको पनि उनले जानकारी दिए।
कार्यक्रममा सहभागी स्वदेश तथा विदेशका विज्ञहरूले विज्ञान र प्रविधिलाई नेपालको समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले नवीकरणीय ऊर्जा, जैविक प्रविधि, जलवायु विज्ञान, कृषि प्रविधि, रोबोटिक्स, एआई र अन्तरिक्ष प्रविधिमा दीर्घकालीन लगानी तथा स्पष्ट नीति आवश्यक रहेको सुझाव दिएका छन्।
छलफलमा अनुसन्धान साझेदारी विस्तार, राष्ट्रिय सह–लगानी कोष स्थापना, लगानीमैत्री कर नीति, बौद्धिक सम्पत्ति संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य र विद्यालय तहदेखि नै नवप्रवर्तनमुखी शिक्षा विकास गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो।
मन्त्रालयले आगामी दिनमा विभिन्न मन्त्रालयका अनुसन्धान एकाइबीच समन्वय गर्ने, गैरआवासीय नेपालीसँग सहकार्यका लागि छुट्टै संयन्त्र विकास गर्ने तथा ‘स्टेम’ शिक्षालाई केन्द्रमा राखेर राष्ट्रिय विज्ञान दृष्टिपत्र तयार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




